काठमाडौँ, २५ असोज । बडादसैँको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिनुभएको छ ।
दिउँसो २ बजेपछि सर्वसाधारणलाई टीका लगाउने कार्यक्रमअनुरुप राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वसाधारण लामबद्ध भएका थिए । राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश सुशीला कार्कीलाई पनि टीका लगाइदिनुभएको छ ।
राष्ट्रपति भण्डारीबाट पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वमन्त्री, सांसद, सुरक्षा निकायका प्रमुखलगायतले टीका तथा प्रसाद ग्रहण गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो ।
यसअघि बिहान ८ बजेर ४५ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्यालबाट टीका तथा जमरा ग्रहण गर्नुभएको थियो । राष्ट्रपतिले परिवार र आफन्तजनलाई पनि सोही साइतमा टीका लगाइदिनुभएको थियो । रासस


